Connect with us

भोजपुरलाई नमूना जिल्ला बनाउन लागि परे मुख्यमन्त्री राई, रङ्गशाला र पक्की पुलको शिलान्यास

भोजपुुर, १ मङ्सिर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सङ्घीय सांसद सुदन किरातीले पक्की पुल र रङ्गशालाको आज एक साथ उद्घाटन गर्नुभएको छ । पिखुवा खोलामा रु छ करोड बढी लागतमा बन्ने पक्की पुलको शिलान्यास गरिएको हो । यसले भोजपुर नगरपालिका–१२ र राप्रसादराई गाउँपालिकाको मानेभञ्याङ जोड्ने छ । त्यस्तै आज नै भोजपुर रङ्गशालाको पनि शिलान्यास गरिएको छ । रङ्गशाला प्रदेश नं १ शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड पाँच लाख लागतमा निर्माण हुने भएको हो । रङ्गशाला विसं २०८० सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । कार्यक्रममा मुख्यमन्त्री राईले भोजपुरलाई नमूना जिल्ला बनाउन आफू लागि परेको बताउनुभयो । उहाँले विकासको पूर्वाधार मुख्य आधार सडक रहेकाले आफ्नो कार्यकालमा १३ वटा पक्की पुल निर्माण गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

विकास निर्माणका लागि बजेट अभाव नरहेको उल्लेख गर्दै उहाँले कामलाई प्रभावकारी ढङ्गले सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । राईले भन्नुभयो, “हामीसँग बजेटको अभाव छैन, तर थालिएका काम प्रभावकारी र गुणस्तरीय ढङ्गले सम्पन्न गराउनु आजको चुनौती हो, यसमा स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।” पुललाई समयमै गुणस्तरीय ढङ्गले सम्पन्न गराउन पहल गर्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । पक्की पुल नहुँदा खोलाबाटै सवारीसाधन तार्नु पर्दा निकै सास्ती हँुदै आएको थियो । रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकालाई जोड्ने सो मुख्य सडकखण्ड हो । पुल निर्माण सम्झौताअनुसार दुई वर्ष अर्थात विसं २०७८ असारसम्म सम्पन्न गरिसक्नुपर्नेछ । निर्माणको जिम्मा मार्सेली निर्माण सेवाले लिएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.