Connect with us

आज विश्व अण्डा दिवस, चितवनमा अण्डाको परिकारको प्रदर्शन

भरतपुर, २४ असोज : चितवनमा २४ औँ विश्व अण्डा दिवस मनाइएको छ । पहिलोपटक औपचारिक रुपमा यो दिवस चितवनको रत्ननगरमा मनाइएको हो । दिवसका अवसरमा कुखुरा व्यवसायी सङ्घ पूर्वी चितवनले आज अण्डाको परिकारको प्रदर्शन गर्नुका साथै अण्डा उपभोगसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । व्यवसायीले अण्डाका १५ प्रकारका परिकार बनाएर प्रदर्शन गरेका थिए । अण्डाको परिकारबारे धेरैलाई जानकारी नहुँदा यसको खपत बढ्न सकेको छैन । कार्यक्रममा प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कुखुरा व्यवसायीलाई आवश्यकपर्ने दानाको कच्चा पदार्थ उत्पादनका लागि सामूहिक कृषि खेती आवश्यक रहेको बताउनुभयो ।

उहाँले कुखुरा व्यवसायीलाई नै कच्चा पदार्थको खेती गर्न आग्रह गर्दै प्रदेश सरकारले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विज्ञहरुले अण्डाको महत्व र यसको उपयोगिताको बारेमा प्रकाश पार्नुभएको थियो । यस्तै सोही दिवसकै अवसरमा सङ्घले रत्ननगर बकुलहर अस्पतालमा रहेका बिरामीलाई अण्डा वितरणसमेत गरेको सङ्घका अध्यक्ष भीमनारायण श्रेष्ठले बताउनुभयो । चितवनमा हाल दैनिक १२ लाख अण्डा उत्पादन हुने गरेको छ भने देशभर दैनिक २६ लाख अण्डा उत्पादन हुने गरेको छ । विगत चार वर्षदेखि नेपाल अण्डामा समेत आत्मनिर्भर बनेको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.