Connect with us

समय र प्रविधिको विकाससँगै प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, २४ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ । ६४ औँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आज यहाँ आयोजित प्रहरी दिवस मूल समारोह तथा श्रद्धाञ्जलि एवं पुनः मिलन कार्यक्रममा उहाँले समय र प्रविधिको विकाससँगै अपराधिक गतिविधिमा परिवर्तन भइरहेकाले अपराध रोकथाम गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीलाई प्रविधिमैत्री बनाउनु आवश्यक भएको बताउनुभयो । उच्चतम प्रविधिको प्रयोगका माध्यमबाट क्षमतायुक्त साथै दक्ष जनशक्ति उत्पादन गरी अनुसन्धान मैत्री वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल प्रहरीले विभिन्न भौतिक स्रोत, साधन तथा जनशक्तिको अभावमा पनि देश र जनताको सेवामा अनवरत क्रियाशिल रहेको उल्लेख गर्दै उहाँले गण्डकी प्रदेश प्रहरी देशमै नमूना प्रहरीको रुपमा विकास भईरहेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रहरीको समुन्नत विकासका लागि आफूले सङ्घीय सरकारसमक्ष विशेष पहल गरिरहेको उहाँले बताउनुभयो । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सबैको एकताबद्ध पहलमा दण्डहिनता अन्त्यका लागि अथक प्रयास गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले नागरिकमैत्री सुरक्षित वातावरण, कानूनको सर्वोच्चता र जनताको सर्वोपरिता, सङ्गठित अपराध नियन्त्रण र अनुसन्धानजस्ता जटिल कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने बताउँदै सरोकारवाला निकायसँग सहकार्यका लागि प्रहरी समुदाय–प्रहरी साझेदारी अवधारणाका माध्यमबाट जनतासमक्ष पुगेको बताउनुभयो ।

नेपाल प्रहरीको पूर्वाधार विकास, भौतिक संरचना निर्माण र प्रविधियुक्त अनुसन्धान पद्धतिको विकास अहिलेको अहम् आवश्यकता र अपरिहार्यता बनेकोमा जोड दिँदै उहाँले प्रहरी सङ्गठनमा प्रादेशिक संरचना स्थापित भइसकेको अवस्थामा पूर्वाधार विकासका लागि प्रदेश सरकारको निरन्तर साथ र सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सङ्घीय प्रहरी एकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले अमर प्रहरी परिवारलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो भने विभिन्न खेलकूद प्रतियोगितामा विजयी खेलाडी र प्रहरीको भौतिक तथा आर्थिक पक्षमा सहयोग गरी शान्ति सुरक्षा अमनचयनमा उल्लेखनीय योगदान पुयाउने व्यक्तिलाई सम्मान गरिएको थियो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.